राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

मसुरिया १ पौष । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच सोमबार भेटवार्ता भएको छ ।

गाउँपालिकाको कार्यालय मसुरियामा भएको भेटमा अध्यक्ष विष्टले शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसँग जोडिएको राप्ती उपत्यका जनघनत्व र सवारीसाधनको चापका दृष्टिले ६ लेनको सडक आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष विष्टले विगतदेखि नै कम्तीमा ४ देखि ६ लेनको सडक निर्माणका लागि सुझाव दिँदै आएको तर ती सुझाव कार्यान्वयनमा नआएको प्रति दु:ख व्यक्त गर्नुभयो। उहाँले शहरी मापदण्डअनुसार बीचमा डिभाइडर सहितको निर्माण हुनुपर्ने धारणा राख्नुभयो ।

केही दिनअघि मात्रै राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक बसेर यस विषयमा केन्द्र सरकारसमक्ष डेलिगेसन जाने तयारी भएको जानकारी पनि अध्यक्ष विष्टले दिनुभयो ।

भेटमा एमसिए नेपालका प्रतिनिधिहरूले आयोजना मापदण्डअनुसार अघि बढाउने तयारी भइरहेको बताउँदै विकासका काममा सबैको सहयोग आवश्यक रहेको धारणा राखे । छलफलका क्रममा प्रतिनिधिहरूले बाह्र मिटर चौडाइमा सडक कालोपत्रे गरिने जानकारी दिएका छन् । ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी पुस महिनाको ७ गते ठेक्का सम्झौता हुने एमसिए नेपालका सञ्चार विज्ञ सविन मिश्रले जानकारी दिनुभयो ।

एमसिए नेपालले आफूहरू सरकारको निर्णय कार्यान्वयन गर्ने निकाय भएकाले स्वीकृत मापदण्डअनुसार नै काम अघि बढाइने स्पष्ट पारेको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्राैटा (कपिलवस्तु)–शिवखोला (दाङ) सडक खण्डको स्तरोन्नति तथा मर्मतसम्भार कार्य गर्न एमसिए नेपाललाई अनुमति दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation