शनिबार, फाल्गुन २, २०८२

तमु ल्होसार २०८२को अवसरमा लालमटियामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

देउखुरी १५ पौष । तमु ह्यूल छोज घि गुरुङ राष्ट्रिय परिषद् लालमटिया इकाइ समितिको आयोजनामा तमु ल्होसार २०८२ (२६०९ त ल्हो) को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत राप्ती गाउँपालिका–२, देउखुरी दाङको लालमटियास्थित धार्मिक स्थल हर्से डाँडा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमका सभा अध्यक्ष तमु ह्यूल छोज घि गुरुङ राष्ट्रिय परिषद् लालमटिया इकाइ समिति अध्यक्ष सुरेन्द्र बहादुर गुरुङ रहनु भएको थियो । प्रमुख अतिथिका रूपमा राप्ती गाउँपालिका–२ का वडा अध्यक्ष पहलवान चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा समिति सल्लाहकारहरू रमेश मान गुरुङ, हस्त बहादुर गुरुङ, खुम बहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो। स्वागत मन्तव्य समिति सल्लाहकार हस्त बहादुर गुरुङले राख्नुभएको हो ।

कार्यक्रमको उद्घाटन ब्यानर वाचनमार्फत गरिएको थियो भने उपस्थित अतिथिहरूले तमु ल्होसारको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा गुरुङ समुदायको संस्कृति झल्काउने नृत्यहरू तथा रमाइला खेलहरू प्रस्तुत गरिनुका साथै सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन समिति सचिव रेशम बहादुर गुरुङले गर्नुभएको थियो भने समापन सभा अध्यक्ष सुरेन्द्र बहादुर गुरुङले गर्नुभएको थियो ।

तमु ल्होसारले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation