राप्ती गाउँपालिकाद्वारा नयाँ कर्मचारीलाई स्वागत

मसुरिया । दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आउनुभएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायतले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, पालिकाको समग्र विकासका लागि कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो ।

उपाध्यक्ष चौधरीले कर्मचारीहरूको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुने आशा व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव, दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै, गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पोख्रेललाई आजकै मितिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाईमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation