मसुरिया २२ पुस । राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ ।
सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरूको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी केन्द्र पुनः सञ्चालनका लागि सहयोग माग गर्दै मागपत्र बुझाएको हो ।
गाउँपालिकाका अनुसार बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यसै सन्दर्भमा गाउँपालिकाले विगत दुई वर्षदेखि शून्य फोहोर अवधारणामा आधारित फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालन गर्दै आएको थियो । उक्त केन्द्रमार्फत फोहोर संकलन, वर्गीकरण तथा प्रशोधन कार्यका साथै प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादनसमेत हुँदै आएको थियो ।
तर हालै केन्द्रमा भएको आगलागीका कारण त्यहाँ रहेका भौतिक संरचना, मेसिन तथा उपकरणमा क्षति पुगेपछि फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
मागपत्र बुझाउँदै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फोहोरमैला व्यवस्थापन वातावरणीय संरक्षण र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै केन्द्रलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइ केन्द्र पुनः सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा संरचना निर्माणमा प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष विष्टका अनुसार केन्द्र पुनः सञ्चालनका लागि मिक्स्चर, एग्लो टायल मेसिन, इन्टरलक मेसिन, स्लग मेसिन, कूलिङ मेसिनलगायतका उपकरण खरिद गर्नुका साथै केही भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ । यसका लागि करिब १ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक रहेको विवरणसहित मुख्यमन्त्रीसमक्ष मागपत्र पेश गरिएको हो ।
मागपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सरसफाइ व्यवस्थापन पालिकाको मात्र दायित्व नभई प्रदेश सरकारको समेत जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले कानुनले दिएको सीमाभित्र रहेर खर्च शीर्षक परिवर्तन गरेर भए पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालन भई स्वच्छ, सफा तथा स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।











