देउखुरी १७ माघ । ज्ञान, अनुशासन र सृजनशीलताको संगम बनेको चैतन्य पाठशाला, राप्ती उपत्यका मौरीघाट देउखुरी, दाङले आगामी २०८२ माघ २४ गते सम्पन्न हुन गइरहेको गरिमामय दोस्रो वार्षिक उत्सवको पावन पूर्वसन्ध्यामा माघ १६ गते खेल भावना र विद्यार्थी उर्जाको उत्सवस्वरूप खेल सप्ताह कार्यक्रमको विधिवत शुभारम्भ गरेको छ।
विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले राष्ट्रिय झण्डा फहराउदै खेल सप्ताहको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विद्यालयका प्राचार्य, सहायक प्राचार्य , सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवात विद्यार्थीहरूको आकर्षक मार्च पासबाट गरिएको थियो। एकतालबद्ध कदम, चम्किलो अनुहार र दृढ संकल्प बोकेको मार्च पासले विद्यालय परिसरलाई खेल उत्सवको रंगमा रंगाउँदै कार्यक्रमलाई विशिष्ट र अविस्मरणीय बनाएको थियो ।
खेल सप्ताहअन्तर्गत विद्यालयका विद्यार्थीहरू विविध खेल विधाहरूमा आफ्नो क्षमता, साहस र खेल कौशल प्रदर्शन गर्नेछन् । प्रतियोगिताहरू चारवटा हाउसबीच सञ्चालन हुनेछन्, जसले विद्यार्थीहरूमा सहकार्यको भावना, खेल भावना, जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्ने संस्कार विकास गराउने छ । यस्ता गतिविधिहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयको विश्वास रहेको छ ।
विद्यालय प्रशासनका अनुसार खेल सप्ताह केवल प्रतिस्पर्धाको अवसर मात्र नभई शारीरिक सुदृढता, मानसिक सन्तुलन र सामाजिक समन्वय विकास गर्ने प्रभावकारी माध्यम हो । प्रगतिशील शिक्षण पद्धतिलाई आत्मसात गर्दै चैतन्य पाठशालाले कक्षाकोठाभित्रको अध्ययनलाई जीवनोपयोगी सिकाइसँग जोड्दै आएको छ ।
खेल भावना, अनुशासन र सहकार्यको सन्देश बोकेको यस खेल सप्ताहले विद्यालयको दोस्रो वार्षिक उत्सवलाई अझ भव्य, अर्थपूर्ण र स्मरणीय बनाउने अपेक्षा गरिएको छ ।











