
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् ।
आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन् ।
दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो भएका छन् । उनलेले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा पुगेका थिए। यसअघि गोरखाको क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई लड्दै आएका थिए ।