शुक्रबार, चैत्र २०, २०८२

आईजीपी कार्कीद्वारा गढवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

गढवा १९ चैत । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नुभएको छ ।

बेलायत सरकारको सहयोग तथा UNOPS को सहकार्यमा निर्माण गरिएको उक्त भवनले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित संवेदनशील मुद्दाहरूमा पीडितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा सहज पहुँच, सुरक्षित वातावरण र सेवाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहांले पीडितलाई सम्मानजनक व्यवहारसहित सेवा प्रदान गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै “प्रत्येक नागरिकको आवाज सुन्ने प्रहरी संगठन निर्माणमा हामी प्रतिबद्ध छौं” भन्नु भयो ।

उहांले सामाजिक सञ्जालमा प्रहरीसँग खिचिएको फोटो प्रयोग गरेर सर्वसाधारणलाई प्रभाव पार्ने वा डरत्रास सिर्जना गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै त्यस्ता गतिविधिले निर्दोष व्यक्तिहरूलाई भ्रमित पार्न सक्ने बताउनु भयो । साथै, प्रत्येक मुद्दामा जवाफदेहिता सुनिश्चित गरिने र कुनै पनि किसिमको ‘टाठाबाठा’ संस्कृति अन्त्य गरिने स्पष्ट पार्नुभयो ।

करिब २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन २८७.२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । २०८१ सालमा सम्झौता भएको निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएको हो ।

भवनको भुइँतलामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालमैत्री कक्ष, बैठक कक्ष तथा प्रशासन कक्षको व्यवस्था गरिएको छ भने तीन वटा शौचालय निर्माण गरिएको छ । पहिलो तल्लामा आवासीय कक्ष, भान्सा तथा भोजन कक्ष र दुई वटा शौचालय रहेका छन् भने दोस्रो तल्लामा सोलार प्रणाली र खुला छतको व्यवस्था गरिएको छ ।

कार्यक्रमका क्रममा भवन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा इलाका प्रहरी कार्यालय गढवाका पूर्व प्रहरी निरीक्षक कालिका कार्की लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

उद्घाटनपछि आईजीपी कार्कीले प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै त्यहाँस्थित मन्दिरको दर्शन समेत गर्नु भएको थियो ।

कार्यक्रमको सुरुवात इन्द्र न्यौपानी (पूर्व प्रहरी नायब महानिरीक्षक) को स्वागत मन्तव्यबाट भएको थियो भने शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीहरूको दर्ता, अनुसन्धान र परामर्श सेवा अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation