काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रालयले केही विद्यालयहरूले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको तथा भर्ना बापत अग्रिम शुल्क असुलेको भन्दै विभिन्न गुनासा आएको तर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शिक्षा नियमावली, २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न वा गराउन नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।
यस्तै, प्रचलित कानूनअनुसार भर्ना भएपछि मात्र स्वीकृत शीर्षकमा स्वीकृत शुल्क लिन पाइने व्यवस्था भए पनि केही विद्यालयहरूले अग्रिम शुल्क असुलेको, स्वीकृतभन्दा बढी शुल्क लिएको, तोकिएको शीर्षकभन्दा फरक शीर्षकमा शुल्क उठाएको तथा एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पनि पटक–पटक भर्ना शुल्क लिएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सर्वोच्च अदालतको फैसलाअनुसार शैक्षिक सत्र शुरू हुनुअघि भर्ना नगर्न, नियमविपरीत शुल्क नलिन तथा कानुनी प्रावधानभन्दा बाहिर गएर अग्रिम शुल्क लिइएको भए तत्काल फिर्ता गराउन निर्देशन दिएको छ ।
यस्तै, स्थानीय तहलाई यस विषयमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्न मन्त्रालयले आग्रह गरेको छ ।












