मङ्लबार, चैत्र २४, २०८२

गढवामा सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया

गढवा २४ चैत्र । गढवा गाउँपालिका मा जनप्रतिनिधि, वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन, घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको हो ।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको मासिक दररेट, त्रैमासिक वितरण प्रक्रिया, तथा आगामी वैशाख १ देखि ७ गतेसम्म सञ्चालन हुने दर्ता सप्ताहलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

साथै वडा स्तरमा सेवा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र जनगुनासोबारे पनि समीक्षा गरिएको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा प्रवाहका क्रममा आउने दबाब र चुनौतीका बीच पनि नागरिकलाई सहज सेवा दिनुपर्नेमा जोड दिँदै जटिल विषयबाट पन्छिन नहुने बताउनुभयो ।

उहांले समस्यालाई समाधानमुखी ढंगले हेरी जिम्मेवारीपूर्वक काम गर्न सचिवहरूलाई आग्रह समेत गर्नुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमलाल ओलीले समयमै लगत कट्टा नगर्दा समस्या उत्पन्न हुने भन्दै मृत्यु दर्ता तथा लगत कट्टा प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहांले दर्ता सप्ताह सफल बनाउन सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख समेत गर्नुभयो ।

वडा नं. ६ का अध्यक्ष वीर बहादुर आले मगरले पञ्जीकरण र वडा सचिवलाई काम गर्न सहज वातावरण नभएको उल्लेख गर्दै जन्मदर्ता र विवाह दर्ता सम्बन्धी प्रक्रियामा देखिएका जटिलताले समस्या निम्त्याएको बताउनुभयो ।

त्यस्तै वडा नं. ५ का अध्यक्ष लेखराज थापाले कार्यसम्पादनका क्रममा सचिवहरू सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहांले जटिल प्रकृतिका विषयमा आवश्यक प्रक्रिया पूरा गरी मात्र निर्णय लिन सुझाव दिनुभयो ।

कार्यक्रमको सहजीकरण गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादव ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation