काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पछिल्लो समय आफ्नो सेयर कारोबार लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्न पद त्याग गर्ने निर्णय लिएको जानकारी दिएका हुन् ।
२०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको कार्यभार सम्हालिरहेका गुरुङले पदभन्दा नैतिकता र जनविश्वासलाई सर्वोपरि ठानेर यो कदम चालेको स्पष्ट पारेका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा देशमा जारी ‘जेनजी आन्दोलन’ले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सम्मान गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने धारणा राखेका छन् ।
“मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले लेखेका छन् । आफूसँग सम्बन्धित विषयमा हुने छानबिन निष्पक्ष होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि आफूले राजीनामा दिएको उनले बताएका छन् ।
गुरुङले सञ्चारकर्मी, युवा र सर्वसाधारणलाई सम्बोधन गर्दै वास्तविक परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक हुने उल्लेख गरेका छन् ।
उनले सबै पक्षलाई सत्य र इमानदारीको मार्गमा उभिन आग्रह गर्दै आफ्नो यो कदमलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा व्याख्या गरेका छन् । उनको राजीनामासँगै अहिलेको राजनीतिक वृत्तमा नैतिकता र जवाफदेहिताको विषयमा नयाँ बहस शुरू भएको छ ।
यस्तो छ राजीनामा ;
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।
कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।











