
दाङ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ ।
आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीबीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो ।
वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ गरेका थिए । डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष घेराउ गर्न पुगेका थिए ।
गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । मनोमानी रुपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिदै आएका छन् ।
पछिल्लो पटक सरुवा भएको केही हप्ताभित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि आन्दोलन चर्किएको थियो ।