काठमाडौं । क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको आज सम्पन्न खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाली टोली ८६ रनले पराजित भएको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियो ।
घरेलु टोलीलाई राम्रो स्कोरसम्म लैजान मिचेल भान लिनगेनले शतकीय पारि खेले । उनले १११ बलमा १५ चौका र १ छक्काको सहायतामा ११९ रन बनाए । त्यस्तै कप्तान गरहार्ड इरसम्सले अर्धशतकीय पारि खेल्दै ५३ रन बनाउँदा जन निकोलले ४०, डिभन ल ककले १८ तथा लो-हान्द्रे लौरेन्सले १४ रन बनाए ।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३ रन बनाएर पभेलियन फर्किए । अर्का ब्याट्सम्यान आशिफ शेख ७ रनमा आउट हुँदा अर्जुन साउद र ज्ञानेन्द्र मल्लले स्कोर केहीमाथिसम्म उकासे । मल्लले ३० रन तथा साउदले २९ रन बनाए । त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा आरिफ शेखले १८ तथा ललित राजवंशीले ११ रन बनाए । नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका जेजे स्मिथ, तान्गेनी लुङ्गामेनी र पिक्की या फ्रान्सले समान २ विकेट लिँदा रुबेन ट्रम्पेलमन, बर्नाड स्कोल्च र मिचेल भान लिन्गेनले १/१ विकेट लिए ।
जितसँगै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।
जारी सिरिजमा यसअघिको खेलमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो । अर्कोतर्फ नामिबियाले अघिल्लो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।