तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९:३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानी हत्या गरेकी हुन् ।
३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएको र उनको उपचारको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृत्यु भएको हो ।
घटनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।