काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको शपथपछि सरकार निर्माणबारे निष्कर्षमा पुग्न सकिने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रचण्डले शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाहीबारे अघि बढ्ने बताएका हुन् । प्रचण्डले भने, ‘सांसदहरुको शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाही अघि बढ्छ अहिले खासै केहि निर्णय भएको छैन ।’
नयाँ सरकार गठनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कसरत गरिरहेका बेला माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको थियो । शनिबार प्रचण्डले बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका थिए ।
सत्तासमीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू रहेको समयमा अध्यक्ष प्रचण्डले देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन् । निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए ।
निर्वाचनपछि तेस्रो दलमा खुम्चिए पनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन् । प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए ।