
चीन । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ ।संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षाबाट पढाइ हुन थालेको छ ।
चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने दावी गरेका छन् ।
चीनले अहिले यीमध्ये पहिलो लहरको सामना गरिरहेको उनको भनाइ छ । महामारी विशेषज्ञ बु जुन्याओले संक्रमणको पछिल्लो वृद्धि जनवरीको मध्यसम्म रहने बताएका छन् ।
उनका अनुसार दोस्रो लहर जनवरीको अन्त्यमा आउने अनुमान गरिएको छ ।दोस्रो लहर २१ जनवरीबाट हुने र त्यही बेला चिनिया नयाँ वर्ष सुरु हुने र मानिसको चहलपहल बढ्ने भएकाले संक्रमण दर बढ्नसक्ने अनुमान गरिएको हो ।
फेब्रुअरीको अन्त्यदेखि मार्चको मध्यसम्म मानिसहरु बिदा सकेर काममा फर्किने क्रममा संक्रमणको तेस्रो लहर आउने अनुमान चिकित्सकको छ ।
यसैबीच चीनको सबैभन्दा ठूलो सहर सांघाइमा कोरोना संक्रमण दर बढ्दै गएपछि अधिकांश स्कुलहरुमा अनलाइन कक्षाबाट पढाइ गर्न निर्देशन दिइएको छ ।
सांघाइ शिक्षा ब्युरोका अनुसार सोमबादेखि नर्सरी र बाल हेरचाह केन्द्रहरु पनि बन्द भएका छन् ।
सहरका केही विद्यालयले शिक्षक र कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि अनलाइन कक्षा समेत बन्द गरिसकेका छन् ।
शनिबार सांघाइको शिक्षा ब्युरोले प्राथमिक र माध्यमिक विद्यालयहरुले सोमबारदेखि अधिकांश कक्षाहरु अनलाइन सार्नुपर्ने निर्देशन दिएको थियो ।