क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ ।
नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ ।
थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको थियो ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो ।
गौशाला प्रहरी बृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको बताएका थिए ।
सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको भन्ने तीनवटा प्रमाण नै पेश गरेका थिए । तर अन्तिम निर्णय नहुन्जेललाई अदालतले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाएको हो ।
अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा सन्दीपले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेश गरेका थिए ।
त्यस्तै उनका वकिल मुरारी सापकोटाले पनि जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए ।
उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका थिए ।
जसमा किशोरीको उमेर १८ वर्षभन्दा बढी छ ।