सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

२५ जना सांसदले आज आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदले आज शपथ लिँदैछन् । सोमध्ये २५  जनाले आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ । कुल २७५ सांसद मध्ये पशुपतिशमशेर जवराले ज्येष्ठ सदस्यको हैसियतले हिजो नै शपथ लिएकाले आज बाँकी सांसदलाई उनले शपथ दिलाउने छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे आज शपथ कार्यक्रम तय गरिएको भएपनि सांसदहरुलाई ११ बजे नै उपस्थितिका लागि सूचना गरिएको छ ।

जेष्ठ सदस्य जवराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा गएर शपथ लिएका थिए। शपथ लिन जाँदा सांसदहरूलाई आफ्नो साथमा नागरिकता, दुई प्रति फोटो र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाणपत्र साथमै लैजान भनिएको छ ।

संसद सचिवालयले सार्वजनिक सूचना जारी गर्दै मातृभाषामा शपथ लिन इच्छुक सांसदलाई तीन दिन अघि नै शपथ ग्रहणको व्यहोरालाई मातृभाषामा उल्थागरी सचिवालयमा उपलब्ध गराउन सूचित गरेको थियो । सोही सूचनाका आधारमा सांसदहरुले मातृभाषामा शपथ लिने तयारी गरेका हुन् । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज हुने शपथमा विभिन्न १४ भाषाका २५ जना सांसदले मातृभाषामा शपथ लिनेछन् ।

उनका अनुसार किरणकुमार साहले संस्कृत भाषामा शपथ लिने भएका छन् । त्यस्तै, महिन्द्र राय यादवले हिन्दी, सूर्यमान तामाङ, मीना तामाङ, हितबहादुर तामाङले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ ।

त्यस्तै, सांसद सराज अहमद फारूकीले उर्दु भाषामा, सांसद रामसहायप्रसाद यादव, उमरादेवी यादव र प्रदीप यादवले भोजपुरी, असिम साहले मुश्लिम भाषा, अशोककुमार चौधरी, लालवीर चौधरी, गंगाराम चौधरी, अरूणकुमार चौधरी, रूपा चौधरीले डंगौरा थारू भाषामा शपथ लिने सहायक प्रवक्ता धमलाले बताए । त्यस्तै, जुम्लाका सांसद कान्तिका सेजुवालले नेपाली खस भाषा, लक्ष्मी तिवारीले अवधि भाषामा, मैथली भाषामा रन्जुकुमारी झा, मनिष झाले शपथ लिँदैछन् ।

दुर्गा राईले कोयू भाषामा र मधेशी भाषामा बिनिताकुमारी सिंह, सिके राउत, अनिता देवीले शपथ लिने बताइएको छ । त्यस्तै, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछिन् । सन्याली भाषामा सोनु मुर्मुले शपथ लिने सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation