
फिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ ।
विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए । यो पोशाकको विषयलाई लिएर केहीले मेस्सीको राष्ट्रिय टोलीको जर्सी छेकिएको भन्दै आलोचना गरेका थिए भने केहीले अरब मुलुकले संस्कृतिलाई मेस्सीले सम्मान गरेको भन्दै उनको प्रशंसा गरेका थिए । उक्त पोशाकलाई खरिद गर्न ओमानको संसदका एक सदस्यले १० लाख डलर दिने प्रस्ताव गरेका हुन् ।
ओमानका सांसद अहमद अल बार्वानीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त बिस्टलाई १० लाख डलरमा खरिदको प्रस्ताव राखेका हुन् । उनले सामाजिक सञ्जालमा विश्वकप जितेकोमा अर्जेन्टिनालाई बधाई दिँदै भनेका छन्, ‘शौर्य र विद्धमत्ताको प्रतीक अरेबिक बिस्ट फर्काउन म तपाईंहरुसँग १० लाख डलरको प्रस्ताव गर्छु ।’
उनले द नेशनलसँगको कुराकानीमा मेस्सीको साप्ताहिक तलबभन्दा पनि कम रकमको लागि गरिएको उक्त प्रस्ताव मेस्सीले बिस्ट बेच्न चाहेको अवस्थामा बढाउन सकिने बताएका छन् । अल बार्वानीले अरेबिक मुलुकको गर्वको विषयसमेत रहेको उक्त बिस्टलाई सधैं स्मरण रहोस् भनेर प्रदर्शनीमा राख्न चाहेको बताएका छन् ।
के हो बिस्ट?
कतार विश्वकपआयोजक समितिका महासचिव हसन अल थवाडी भन्छन्, ‘यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाइन्छ। यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो ।’
उनले भने, ‘विश्वकप हाम्रो लागि अरब र मुस्लिम संस्कृति विश्वलाई देखाउने अवसर थियो । यसले कतारको मात्र होइन, एक क्षेत्रको उत्सवको खुसीको प्रतिनिधित्व गर्छ ।’
अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ । त्यसैले फाइनल खेल जितेपछिको महत्वपूर्ण अवसरमा उक्त पोशाक कतारका राजाले मेस्सीलाई लगाइदिएका थिए ।