
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि मंगलवार दाबी पेश हुने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबिच भएको सहमतिअनुसार लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचन समक्ष सत्तारूढ गठबन्धनले एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरीलाई मुख्यमन्त्रीको लागि बहुमतसहितको दाबी पेश गर्न लागेको हो । मंगलवार अपराह्न ४ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरिने एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । सत्तारुढ गठबन्धन दलका नेताहरूको छलफलपछि सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने सहमति भएको ढकालले बताए । एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमत पार्टीसँगै नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गर्ने ढकालले बताए ।
सम्भवतः प्रदेश प्रमुख शेरचनले आजै लुम्बिनीमा नेता गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने छन् । शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाउने सहमति छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार गत बुधवार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न ७ दिनको समय उपलब्ध गराएका थिए ।
प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि दिएको समयसीमाको एकदिन अगाडि नै दलहरुले दावी पेश गर्न लागेका हुन् । शेरचनले भोलि २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुपर्नेछ ।
केन्द्रको समीकरणअनुसार लुम्बिनीमा एमाले २९, माओवादी १०, राप्रपा ४, जनमत पार्टी ३, जसपा ३ नागरिक उन्मुक्ति ४ सांसद छन् । कांग्रेसका २७, लोसपा ३, नेकपा एकीकृत समाजवादी १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र २ सांसद रहेका छन् । प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।