पाल्पा । सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ ।
सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका छन् । उनले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताए ।
पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु गरेको हो । यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ ।
बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउन जान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको हो ।