
उसलाई फाईदा भयो मलाई हानी भयो
पोखरा हुँदाहुँदै काठमाडौ राजधानी भयो
सोचे जस्तै सफर भेटिएन कहिल्यै पनि
पीडा दर्ता भयो खुशी सबै चलानी भयो ।।
बिस्तारै दुश्मनी बढेपछि यो दुनियाँ सँग ।
दोस्ती सुरु गरेकी हुँ रदिफ र काफिया सँग ।
यादहरुको नशामै भरपुर आनन्द मिलेदेखि ।
अचेल मेरो सम्बन्ध छैन कफी र चिया सँग ।
छुट्टिनको लागि पनि भेटिन लेखिएछ ।
तिम्रो मेरो एउटै कथा किन लेखिएछ ?
जसले मलाई घाउ हेर्दै पीडा दिने गर्थ्यो !
फेरि उहि समयलाई पर्खिन लेखिएछ ।
भुल गर्यो भगवानलाई खुट्टामा राखेर
मुटुमा राख्नुपर्ने मान्छे आँखामा राखेर ।
जिन्दगी भनेको पाठ हो, बुझ्न ‘सकेनौं
अपमान गर्यो, बाहिरी गातामा राखेर ।
यो दुःखको पल हो यसरी मुस्कुराउँन बन्द गर्नुस् ।
अप्ठ्यारा मोडहरुमा नजर जुधाउँन बन्द गर्नुस् ।
बरु सवाल नगर भन्नुस् सवाल गर्नै छोडिदिन्छु ।
बिन्ती छ, यस्तो रुखो जवाफ फर्काउँन बन्द गर्नुस् ।
कहिले अचानो कहिले मन सडक भएर
कति बस्नु अरुको पाउमा बन्धक भएर
मलाई पनि जिन्दगीले अवसर दियो भने
बाच्न मन छ यो दुनियाँ भन्दा फरक भएर ।।