
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिदा भएर जाँदै गर्दा प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् ।
केसीले पाँच बर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन । २०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निणर्य गरेको थियो ।
सो निणर्य दुई बर्ष पछि गत मंसिर २८ मा कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना भयो । प्रदेश राजधानी शहर व्यवस्थापनका लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।
योजनाबद्द विकास, चार वटा प्रदेश सरकारको गौरवका आयोजनाको रुपमा अघि बढाइएको, कानुन निर्माण, संगठन संरचना र जनशक्ति व्यवस्थापनको बिषयलाइ मुख्य उपलब्धी मानिएको छ ।
केसीले एक बर्ष ५ महिना मुख्यमन्त्री भएर बिताए । यो अवधिमा प्रदेशको जग बसाल्न सफल भएको दावी गर्दै प्रदेश गौरबका आयोजना नयाँ सरकारले निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
पहिलोपटक प्रदेशलाइ स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्याउने, विकासका आधारशिला खडा गर्ने, रणनीति योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गरेने जस्ता चिरस्मरणिय अप्ठ्याराका ५ बर्षहरु संघियता व्यवस्थापनका कडीहरु हाम्रा ऐतिहासिक अनुभुतिहरु रहेको सम्बोधनमा उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ बर्ष ५ महिना पूरा गरेको सन्दर्भमा मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तब्य पूरा गर्दछु सम्बोधनमा भनेका छन् ।
प्रदेशवासीमा सम्बोधन
प्रिय पत्रकार बन्धुहरु,
आज मैले मेरो प्रियभूमी लुम्बिनी प्रदेश र मेरा आदरनीय लुम्बिनीवासीलाई विशेष धन्यवादको ऐतिहासिक सन्दर्भमा यहाँहरु सामु उभिएको छु । आज लुम्बिनी प्रदेशको नयाँ सरकार गठनको दावा पेश हुँदै गरेको दिन र मेरो नेतृत्व सरकारको कार्यकालको अन्तिम दिन प्रदेश नं.५ बाट लुम्बिनी प्रदेश नामले सु-प्रसिद्ध दुईतिहाई भन्दा बढी अत्याधिक मतले स्थापित प्रदेश, अस्थायी मुकाम:बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा स्थापना भएको पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ वर्ष ५ महिना पुरा गरेको सन्दर्भमा आज मैले मेरो कदममा साथ दिने, माया गर्ने, आशा-विश्वास र भरोसा राख्ने अपार स्नेही समुदायलाई सम्झना गर्ने कर्तव्य पुरा गर्दछु । मलाई यो ऐतिहासिक जिम्मेवारी दिने ५ दलीय गठबन्धनका माननीय सदस्यज्यूहरु, उक्त दलका शिर्ष नेताज्यूहरु प्रति सम्मानका साथ आभार व्यक्त गर्दै धन्यवाद टक्र्याउँदछु ।
यो विशेष क्षणमा मेरा आदरनीय शहिदहरु, बेपत्ता साथीहरु एवं उहाँहरुका परिवारजन, यो व्यवस्था स्थापनाका लागि भएको क्रान्तिका घाईते सहयात्रीहरु, दु:ख पीडामा पिल्सिएका दूरदराजका विकट गाउँ बस्तीहरु जो समुदायले आफनो नयाँ जीवन खोजी रहेका छन् ती सबै तमाम समुदायलाई विशेष स्मरण गर्दछु ।
पहिलो पटक प्रदेशलाई स्थापना गर्ने, कानून निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्ने देखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्याउने, विकासका आधारशीला खडा गर्ने, रणनीतिक योजना र गुरुयोजनाहरु, प्रदेशको लक्ष्य स्थापित गर्ने जस्ता चिरस्मरणिय अप्ठ्याराका ५ वर्षहरु संघीयता व्यवस्थापनका कडिहरु हाम्रा ऐतिहासिक अनुभूतिहरु रहेका छन् । आज आत्मविश्वास पूर्वक नयाँ सरकारलाई यो प्रदेशको भावी गन्तव्यको यात्रा ग्राफ कोरेर विदा हुन पाउँदा जीवनको अमूल्य अवसर र गर्वको क्षणको रुपमा आत्मसाथ गरेको छु ।आज प्रदेशलाई नयाँपन दिने संकल्पको जगको नेतृत्व गर्ने पहिलो मुख्यमन्त्रीज्यू तथा पहिलो मन्त्रिपरिषदलाई पनि श्रृङखलाकै रुपमा सम्झन चाहान्छु ।
मेरो नेतृत्वमा रहेको सरकारले तय गरेको प्रादेशिक गौरवका ४ स्तम्भ सँग लुम्बिनी र लुम्बिनीवासी जनताको खुशी र गौरवको गन्तव्य देखेको छु । हाम्रो पहिलो गौरवशाली कार्यको नमूना स्थायी राजधानी निर्माण र व्यवस्थापनबाट दाउन्ने देखि चिसापानी कर्णालीबाट दैनिक यात्रा गर्ने हजारौं यात्रूहरु हाम्रा विशाल नगरिहरु छिचोल्दै जब राप्ती उपत्यका फाँट देउखुरीको सडकबाटै लुम्बिनी प्रदेश सभाको बौद्ध आकृतिको मौलिक पहिचानको मस्तुल र प्रदेश सरकारको प्रशासनिक परिसर नियाल्न पाउनु हुनेछ ।त्यसवेला यो पुस्ताको दृष्टि र लुम्बिनी प्रदेशको नमूना पहिचान व्यक्त हुनेछ । म पनि भोली देखि यो सडकमा हिड्दै गर्दा आफ्नो पसिना जोडिएको गौरवको निर्णायक स्थललाई वारी बाटै नियाल्ने छु । यो युगको सुन्दर नमूना स्थललाई गौरवका साथ स्यालुट गर्ने छु र भोलीको ईतिहासका लागि गर्व गर्न पाउने आशा गर्दछु ।
मैले आफ्नो कार्यकालमा कमाएको ५ वर्षे सम्पत्ति यहि हिरावल आकृति हो भन्ने ठानेको छु । यो दुर्लभ अवसर प्रदान गर्ने लुम्बिनीवासी प्रियजनता; जसको अपार माया र साथ सहयोग सदा स्मरणीय हुनेछ ।
मलाई विश्वास छ । हाम्रो सपना अलपत्र हुने छैन् ।मेरा सहृदयी लुम्बिनी प्रदेशका माननीय ज्यूहरु, मेरो मन्त्री मण्डलमा कार्यरत मन्त्रीहरु र राज्यमन्त्रीहरु, राष्ट्रसेवक कर्मचारीहरु पनि ईतिहासमा सम्मानित हुनु हुनेछ । चमत्कारिक संरचना तयार पार्ने प्रदेश पूर्वाधार प्राधिकरण, सबै सल्लाहकार र विज्ञ सहयोगीहरु यस राजधानी व्यवस्थापन समिति नै स्थापना गरेर साथ दिने राजधानी नगरी राप्ती गाउँपालिका, गढवा गाउँपालिका, सितगंगा न.पा, लमही र राजपुर एवं दाङ जिल्ला समन्वय; तुल्सीपुर तथा घोराही उ.म.न.पा. लगायतका १० वटै यस क्षेत्रका स्थानीय सरकारहरु, यो राजधानीको श्रृङ्गार र व्यवस्थापनमा जुट्नुहुने दाङ देउखुरी स्थित उद्योग वाणिज्य संघहरु, अन्य संघ/संस्था र सबै निकायहरु; भालुवाङ्ग देखि लमही सम्म सरसफाई लगायत स्वागत आतिथ्यतामा उत्रीनुभएका सबै वडा र टोलटोलका देउखुरीवासी पौरखी, मेहनतकस, कर्मठ थारु समुदाय लगायतका सबै दाजुभाई दिदीबहिनीहरुलाई, विद्यालय र विद्यालयका सबै भाईबहिनीहरु, सबै व्यवसायी र उद्योगीमित्रहरु, समस्त कार्यरत देउखुरीका राजनीतिक दलका नेतागण तथा पार्टीका कमिटीहरु यहाँहरु सबैमा विशेष सम्मानपूर्वक धन्यवाद सहित स्यालुट भन्न चाहान्छु । अन्तमा, भोलीबाट नयाँ सरकारको गठन गरी जिम्मेवारी लिनुहुने नयाँ सरकारलाई सफल र कुशल कार्यकालको शुभकामना तथा स्वागत गर्दै यो पत्रकार भेटघाट यही समाप्त भएको जानकारी गर्दछु ।
धन्यवाद !
माननीय कुलप्रसाद केसि ‘सोनाम’
(मुख्यमन्त्री)
२०७९ पौष २७