लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउँदै छन् ।
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।
नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र स्वतन्त्र सहित ५८ सांसदको समर्थन छ ।
सपथ ग्रहण पछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबिच समझदारी भएको छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।
लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन् ।