दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री तथा मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालय सपथ खाने परम्परा रहे पनि लुम्बिनी प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय बाहिर नै सपथ कार्यक्रम भएको छ । बुटवलमा रहेको प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा नभई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा विहिबार सपथ ग्रहरणको कार्यक्रम सम्पन्न भएको हो ।
अघिल्लो सरकारले अस्थायी मुकाम बुटवलबाट प्रदेश राजधानी सारेर राप्ती उपत्यकामा लगेको र सोही ठाउँबाट कार्यभार सम्हाल्नु पर्ने भएका कारण मुख्यमन्त्री लिला गिरीकै आग्रहमा राप्तीमा सपथ ग्रहण्का कार्यक्रम तय गरिएको हो ।
मुख्यमन्त्री गिरीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत सपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी र एमालेको तर्फबाट अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले सपथ लिएका छन् । उनीहरुले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।