
दाङ । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछी दाङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चोरी लुटपाट नियन्त्रण गर्ने, हराएको मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि टोली परिचालन हुने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सन्जिब बेल्बासेको नेतृत्वमा रहने टोलीले हराएका मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने कार्यलाई जोड दिनेछ ।
कार्यक्रममा मोबाईल चोरी र चोरीका मोबाईल प्रयोग नियन्त्रण सम्बन्धमा दाङका मोबाइल पसल संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्वसाधारणका चोरी भएका, हराएका मोबाइल दाङ प्रहरी कार्यालयमा उजुरी परेको थियो । जसमध्ये प्रहरीले हराएका केही मोबाइलहरु पत्ता लगाएर सम्बन्धित धनीलाई बुझाएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।