
सुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो ।
बुलुले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो । जिल्लाकै पहिचान र इतिहाससँग जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा परेको छ । क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो बनाउँदा बुलबुले ‘पानीविनाको ताल’ भएको छ ।
तालको भूभाग अहिले घाँसे मैदानमा परिणत भएको छ । विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भूवनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण बुलबुले ताल नै नरहने अवस्थामा पुगेको छ ।
गत आर्थिक वर्षमा बुलबुले तालमा मेसिन डोजरको प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो । तालको विस्तारसँगै तालमा रहेको पानी जमिन मुनिबाट छिरेर बाहिर बग्यो । मेशिनले विस्तार गरिएको क्षेत्रमा पानी नरोकिने समस्या आयो ।
अहिले यो ताल दिनानुदिन कुरूप बन्दै गएको छ । १०-१५ वर्ष अगाडि बुलबुले ताल हेर्न आएको मानिस फेरि अहिले हेर्न गयो भने ताल कहाँ गयो भनेर खोज्ने अवस्थामा पुगेको छ ।
स्थानीय बसन्ती खनालले भनिन्, वीरेन्द्रनगर नगरपालिकाले ताल बनाउने नाममा तालकै विनास गरेको छ । झण्डै १५ वर्ष पहिले हामी सुर्खेत आउदा देखेको बुलबुले ताल कति सुन्दर थियो । अहिले कुरूप बनेको छ । यो देख्दा कति मन रुन्छ । ताल बनाउने नाममा नगरपालिकाले तालमा डोजर लगाएर घाँसे मैदान बनाइदियो । तत्काल यसको संरक्षणका लागि नसोचिए ताल नै हराउने अवस्थामा छ। ‘
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले तालमा पानी जम्मा हुने समस्या आएपछि आफूहरू पनि यसप्रति निकै चिन्तित रहेको बताए ।
उनले भने, ‘बुलबुले संरक्षणका लागि सुर्खेतस्थित जलाधार कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम गरेको छ । जमिनमुनी पानी छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरू अघि बढाइनेछ । यसै वर्ष ताललाई हेर्न लायक ताल बनाउने आफूहरूको योजना छ । ‘
उपत्यका नगर विकास समितिका सदस्य सचिवसमेत रहेका तिवारीले ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरू पनि भइरहेको बताए । भु तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमूख शिखर चपाईंले बुलबुले संरक्षणको कामका लागि आफ्नो कार्यालयबाट ५० लाख बजेट रहेको जानकारी दिए ।
उनले भने, ‘नगर विकास समितिले तालको उत्थानका लागि गुरु योजना बनाएको छ । त्यसैअनुसार हामीले काम गरिरहेका छौं। झार र माटोले बुलबुले ताल पुरिएको छ । त्यो झार र माटो पन्छाएर सफा गरेपछि ताल राम्रो हुन्छ । तालको सफा गर्नुपर्ने काम नगरपालिकाले गछौँ भनेकाले हामीले नगरेका हौं। एक ठाँउमा पानी बाहिरिने भागमा बन्द गरेर भित्रै भाग सफा गरेपछि हेर्न योग्य ताल बन्छ । पहिले ११ हजार वर्गमिटर थियो । २८ हजार वर्गमिटर बनेको छ।’
तालको सरसफाई र तालबाट बाहिरीने पानी बन्द गरिसकेपछि चाँडै नै हेर्न लायक ताल बन्ने उनको भनाइ छ ।