
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् ।
शनिबार दिउँसो सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन् । उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन् ।
आजको संसद् बैठकमा कुल २६४ जना सांसद उपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा रानामगरले १६६ मत पाइन् । त्यस्तै, उनको विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ ।
सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन् । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए ।
प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।