चितवन । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।
कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस-सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रु १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो ।
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।
निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
वि.सं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो ।
सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ । “रङ्गशालाको ऋण तिर्नुपर्ने छ, यसका लागि उपायको खोजी भइरहेको छ,” उनले भने । निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउनुहुँदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताइन् ।
सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि रु २२ करोड र प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट रु आठ करोड खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको दाहालको भनाइ छ ।
रङ्गशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उहाँले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताइन् ।
यसअघि फाउण्डेसनले निर्माणको जिम्मा लिएपनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो ।
फाउण्डेसनले महानगरपालिकालाई रङ्गशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो ।