नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो ।
हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गर्न सिफारिस गरिएकाे हाे ।
‘हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेकाले त्यहाँको सिभिल एभिएसनले हामीलाई खबर गर्यो’ उनले भने, ‘यसै आधारमा प्राधिकरणले तीन पाइलटलाई निलम्वन गर्न निगमलाई निर्देशन दिएका छौं ।’