
पर्वत । पोखराका क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार भएको छ ।
उनी विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा ‘रिपोर्टिङ’ गर्न स्याङ्जाको आँधिखोला गाउँपालिका–४ बाङसिङ, दह पुगेका थिए । पोखराको फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानीय टोल विकास समितिका केही व्यक्तिको उक्साहटमा समाजका अन्य मानिसहरूले आफूमाथि दुर्व्यवहार गरेको पत्रकार घिमिरेले बताएका छन् ।
आफू पत्रकार हो भनेर परिचयपत्र देखाउँदा समेत उनीहरूले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाड्दिने, लगायतका तल्लो स्तरका गालीगलौज गरेको पनि उनले बताएका छन् । स्थानीय दह ठुला खेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेसम पौडेल, बाबुराम पौडेल, पीताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरूलाई समेत उक्साएर आफूप्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीता थापाको अगाडी नै उनीमाथि दुर्व्यवहार भएको हो । थापासहित वडाध्यक्ष लगायतले रोक्दा रोक्दै पनि ‘हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन ।’ भन्दै उनीहरूले हमलाको प्रयास गरेको घिमिरेले बताएका छन् ।
घटना लगत्तै घिमिरेले स्थानीय चिलाउनेबास प्रहरी चौकीमा आफूमाथि दुर्व्यवहार गर्ने स्थानीय अगुवाहरूको बारेमा चौकी प्रमुख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गरेका छन् । साथै उनले पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घ कास्कीमा पनि घटनाको बारेमा जानकारी गराएका छन् । आफू पत्रकार हो भनी आफ्नो परिचयपत्र स्पष्ट रूपमा देखाइरहँदा पनि दुर्व्यवहार हुनु र धम्कीका भाषाहरू प्रयोग हुनुले आफू निकै दुखित रहेको पत्रकार घिमिरेले बताएका छन् ।
चार वर्षदेखि विवादित अवस्थामा रहेको खानेपानी योजनाका विषयमा गाउँपालिका र अख्तियारमा समेत उजुरी परेको छ । उक्त विषय सार्वजनिक सरोकारको विषय भएकाले आफू समाचार सङ्कलनका लागि त्यहाँ पुगेको उनको भनाई छ । ‘यसरी सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरूमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दुर्व्यवहारले पत्रकारहरू असुरक्षित हुन्छन् । यस किसिमका घटना पटक–पटक दोहोरिनु पक्कै पनि कानुनी राज्यमा राम्रो कुरा होइन। यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोषी उपर राज्यले आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याओस् भन्ने माग पनि गर्न चाहन्छु।’, घिमिरेले भनेका छन् ।