
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिका स्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।
केही समयदेखि विरामी गायक पौडेल घरमै आराम गरिरहेका थिए ।
उनको शुक्रवार दिउँसो पोखरा स्थित रामघाटमा अन्त्येष्टि गरिँदैछ । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाटमा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए ।
केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दोहोरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।
उनले गतमहिना मात्रै आफ्नै युट्युब च्यानल मार्फत ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक गरेका थिए ।
गायक पौडेलको निधनमा थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।