
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध आन्दोलन घोषणा गरेको हो ।
महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधैँ अवहेलना गरेको आरोप लगाएको छ । त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीहरुको नामकरण तथा धितोलिलामी गरी व्यवसायीहरू दिनप्रति दिन आत्महत्या आत्मदाह गर्न बाध्य पार्ने कामको भ्रत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरू प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अवहेलना गरेको बताए । उनले राज्यको नीति र बैंकहरुको मनोमानीको कारण व्यवसायीहरूले दैनिक आत्महत्या गर्न थालेको बताए । उनले राज्य र बैंकहरुले व्यवसायीहरू माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरिएको बताए ।