शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही महोत्सवमा स्थानीय उत्पादन

देउखुरी । लमही नगरपालिका–६ देउपुर निवासी आशा चौधरीले व्यावसायिकरुपमा अचार उत्पादन गर्न थालेको करिब १५ वर्ष पुगेको छ । गाउँघरमा फलेका आँप, खुर्सानी, अमला, मुलालगायतबाट अचार बनाउँदै आउनुभएको हो । शुरुका दिनमा उहाँलाई अचारको बजार खोज्न गाह्रो पर्यो । कोरोनाअघि राम्रो रहेको अचारको बजार यो अवधिमा खासै राम्रो हुन सकेन । मेला महोत्सव सञ्चालन नहुँदा अचारले बजार पाउन सकेको थिएन ।

तर फेरि मेला महोत्सव लाग्न थालेपछि आशाले तयार पारेको अचारले बजार बनाउन थालेको छ । ‘शुरुमा १५ क्वीन्टल आँपबाट अचार बनाउनुभयो । त्यसपछि यही कामले निरन्तरता पायो’– आशाले भन्नुभयो– ‘अहिले मेला महोत्सवमा अचारको स्टल राख्दै आएको छु ।’ आशाले लमहीमा जारी देउखुरी कृषि, पर्यटन, व्यापार महोत्सवमा अचारको स्टल राख्नुभएको छ । मेला महोत्सव स्थानीय उत्पादनका सामग्री बिक्री गर्ने थलो बन्न थालेका छन् । ‘बजारको ज्यादै समस्या थियो । अहिले बिस्तारै मानिसहरुले स्थानीय उत्पादन रुचाउन थाल्नुभएको छ’– चौधरीले भन्नुभयो– ‘मेला महोत्सव सधैं लाग्ने र ती ठाउँमा स्थानीय उत्पादनले ठाउँ पाउने हो भने बजारको समस्या केही हदसम्म कम हुने थियो ।’

घोराहीमा अल्लो गार्मेन्ट उद्योग छ । अल्लोको धागोबाट कपडा, झोला, टोपी, पेटीलगायत थुप्रै सामग्री बनेका छन् । यी सामग्रीको बजारीकरणको लागि मेला महोत्सव उपयोगी बन्न थालेको छ । छुट्टै स्टल राखेर अल्लोबाट बनेका सामग्री बिक्री थालिएको उद्यमी सरोज पुनले बताउनु भयो । ‘शिरदेखि पाउसम्म लगाउन मिल्ने सामग्री हामीले यहाँ राखेका छौं’– उहाँले भन्नुभयो– ‘धेरै जसो उपभोक्ताको रोजाइमा हाम्रो उत्पादन परेको छ ।’ लमहीमा चलिरहेको महोत्सवमा अल्लोबाट बनेका सामग्री राखिएको छ । राप्ती गाउँपालिका–७ सिसहनियामा लगनशील मुन्ज सामग्री उत्पादन समूह छ । यो समूहले मुन्जबाट ढकिया, हटकेसलगायतका थुप्रै सामग्री निर्माण गरेको छ । यी सामग्रीको बजारीकरण गर्न महोत्सव रोजिएको छ । स्थानीय स्तरमा लाग्ने मेला महोत्सवदेखि काठमाडौंसम्म पुगेर बजारीकरणको प्रयास गरिएको छ । स्थानीय उत्पादन प्रयोग गरौं, विदेशी आयात कम गर्ने उद्देश्यले स्थानीय उत्पादनमा जोड दिइएको उद्यमी राजकुमारी चौधरीले बताउनुभयो ।

स्थानीय उद्यमी महिलाहरुले तयार पारेका सामग्री महोत्सवमा राखिएको छ । बजारमा प्लास्टिकबाट बनेका थुप्रै सामग्री छन् । तर ती सामग्री भन्दा स्थानीय उत्पादन उपयोगी रहेको भन्दै बजार प्रबद्र्धनमा उद्यमी लागेका हुन् । आर्ईएम स्वीड्सि नेपाल र स्वच्छ व्यवसायी समूह नेपालको साझेदारी तथा स्वान नेपालको सहकार्यमा मुन्ज उद्यमीले सामग्री उत्पादन गर्दै आएका छन् । यी सामग्रीको बजारीकरणको लागि देउखुरी उद्योग वाणिज्य संघले निःशुल्क स्टल उपलब्ध गराएको छ । लमही नगरपालिका–५ मा सिर्जनशील अपांगमैत्री संस्था छ । यो संस्थामा आवद्ध अपांगता भएका व्यक्तिले बाँस र बेतबाँसबाट बनेका सामग्रीको बजारीकरण हुन सकेको छैन । बजार खोज्दै महोत्सवसम्म पुगेका छन् । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने भए पनि सबैको ध्यान नपुगेकाले महोत्सवबाट जानकारी दिन र प्रचारप्रसार गर्न खोजिएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन मेला महोत्सव माध्यम बन्न थालेका छन् तर कतिपय अवस्थामा धेरै उत्पादन बजारसम्म नपुग्ने समस्या छ ।

लमहीमा जारी कृषि, पयर्टन तथा ब्यापार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनियो तर केही स्थानीय उत्पादन पुगेपनि कृषि र पर्यटनसँग जोडिएका उत्पादनले प्राथमिकता पाउन सकेनन् । किसान सँग समन्वय गरे पनि कृषि क्षेत्रका स्टल नआएको देउखुरी उद्योग वाणिज्य संघले जनाएको छ । ‘किसानको खोजी भयो तर स्टलसम्म आइपुग्नु भएन’– देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले भन्नुभयो– ‘किसान किन आउन चाहनु भएन यसको खोजी गर्नेछौं ।’ महोत्सवमा करिब दुई सय स्टल छन् । ती स्टलहरुमा अधिकांश बाह्य उत्पादनका सामग्री छन् । थोरै मात्र स्थानीय हस्तकला र स्थानीय उत्पादनका सामग्री राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation