शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अध्ययन नगरी तोकिएको पर्यटकीय संरचना भूतखोला बन्यो काल

पाल्पा ।  विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ । तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ ।

भूतखोलामा रहेको पोखरी अवलोकन गर्न र पौडी खेल्न आउनेहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो । यसले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जानेहरू ज्यान गुमाउन बाध्य छन् भने कतिपय मानिस तस्बिर खिच्नेक्रममा लडेर ज्यान गुमाउन बाध्य भएको तानसेनका स्थानीय शम्भु आचार्यले बताउनुभयो ।

भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि मानिसको क्रियाकलाप सुरक्षित गर्न आवश्यक उपाय अपनाउनुपर्ने आचार्यले बताउनु भयो । “हरेक वर्ष भूतखोलामा लडेर, पौडी खेलेर मानिसले ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो। मानिसको ज्यान लिने पनि पर्यटकीय स्थल हुन्छ ? उहाँले प्रश्न गर्दै भन्नुभयो, “पर्यटन क्षेत्र भन्दै सरकारले लगानी गरेको स्थान असुरक्षित बनेको छ। यहाँ घुम्न आउने पर्यटक असुरक्षित छन् ।” भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् ।

तर गर्मी सिजनका बेला कतिपय युवा यहाँ पौडिन जान मिल्ने सहज स्थान रहेकाले अकालमा ज्यान गुमाउनुपरेको प्रमोद सारूले बताउनुभयो । अहिले भूतखोला सामुदायिक वन उपभोक्ता समूहले यहाँ आउने पर्यटकलाई विभिन्न शीर्षकमा २० देखि दुई हजार रुपियाँसम्म शुल्क लिने गरेको छ । तर सुरक्षाको प्रबन्ध भने पर्यटकका लागि हुन नसकेको गुनासो छ । गत वर्ष लुम्बिनी प्रदेश सरकारले पार्क निर्माण गर्न २५ लाख रुपियाँ लगानी गरेको थियो । यस्तै तिनाउ गाउँपालिका र वन उपभोक्ता समूहले समेत यहाँ अध्ययन नै नगरी लगानी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि भूतखोला क्षेत्रमा पटक–पटक आन्तरिक र बाह्य पर्यटकको ज्यान जाने गरेको जनाएको छ । “त्यस ठाउँमा मानिसको ज्यान जाने घटना दोहोरिरहन्छ,” पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “पर्यटन क्षेत्रमा काम गर्ने निकायले त्यसलाई सुरक्षित बनाउन जरुरी छ ।” गोरखापत्रबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation