शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित विराटनगरबाट असइ पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन ) सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन् ।

भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका- १५ रानीस्थित १ नम्बर ढाटबाट असई (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन् ।

उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४:२० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

उनका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ ।

ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिए । उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ ।

ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए ।

सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर – १५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ । विराटनगर – १४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation