चितवन । गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिनुभयो ।
विश्वबाट नै लोपउन्मुख अवस्थामा रहेको एक सिंगे गैंडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पार्न सम्मेलनको अयोजना गरिएको हो । यस अगाडि भारतको दिल्लीमा आयोजना भएको थियो । नेपालमा पहिलो पटक सम्मेलन आयोजना गरिएको हो ।
शुक्रबार छलफल गर्ने र शनिबार निकुञ्जको विभिन्न क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । गैंडाको मुख्य वासस्थान रहेको ठाउँ, मारिएका स्थान प्रत्यक्ष रुपमा अवलोकन गरेर चुनौतीको विषयमा साझा धारणा तयार गर्ने कार्य योजना रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।
चितवन भन्दा अगाडि दोस्रो दिल्लीमा र पहिलो इण्डोनेसियामा सम्मेलन भएको थियो । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिएको यो सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका प्रतिनिधि सहभागी छन् । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल, विभिन्न निकुञ्जका प्रमुखलगायतको सहभागीता रहेको छ । सम्मेलनमा ६५ जना भन्दा धेरैको सहभागीता रहेको छ ।