काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही ठूला सञ्चारमाध्यमहरु माथि गरेको प्रहारले मिडिया क्षेत्रमा ठूलै खलबली उत्पन्न गरेको छ । सञ्चारकर्मीहरु नै उनको पक्ष र विपक्षमा बाँडिएका छन् ।
रविको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै हिजै नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा उसले रविले सञ्चारगृह घेर्ने धम्की दिएको भन्दै यसबाट सञ्चारजगत नै असुरक्षित बनेको दाबी गरेको छ । तर, महासंघको यो विज्ञप्तिलाई लिएर जनताको प्रतिक्रिया सकारात्मक छैन । अधिकांशले मिडियालाई नै गाली गरेका छन् ।
रविको अभिव्यक्तिलाई आज प्रकाशित भएका दैनिक अखबारहरुले फरक फरक तरिकाले रेस्पोन्स गरेको पाइयो । रविले पहिलो निशाना बनाएको कान्तिपुरले आक्रामक प्रतिवाद गरेको छ । अन्य अखबारहरु भने तुलनात्मकरुपमा नरम देखिए । रविले मिडिया र पत्रकारहरुको नाम लिएर लगाएका आरोपहरु भने कुनै पनि दैनिक पत्रिकाले समेटेका छैनन् ।
कान्तिपुर दैनिकले सम्भावित पाठक प्रतिक्रियाहरुलाई झेल्ने साहस देखाउँदै रविविरुद्ध सम्पादकीय लेखेको छ । ‘रवि लामिछानेको धम्कीपूर्ण घृणावाद’ शीर्षकमा प्रकाशित सम्पादकीयमा रवि लामिछानेको शैली टोले गुणको जस्तो भएको उल्लेख छ । गृहमन्त्री गुमेको झोकमा रविले आफ्नो हैसियत बिर्सेर बर्बराहट गरेको निष्कर्ष कान्तिपुरले निकालेको छ । ‘समय छ, लामिछाने सुध्रिउन्, आफ्ना गल्तीहरुप्रति प्रायश्चित गरुन् र उक्त घृणास्पद • अभिव्यक्ति फिर्ता लिउन्’ सम्पादकीयमार्फत कान्तिपुरले माग गरेको छ ।
पत्रिकाको पहिलो पेजको मुख्य समाचार पनि सम्पादकीय जस्तै जस्तै छ । ‘रविले देखाए वास्तविक छवि’ शीर्षकको समाचारमा हिजो रविले बोलेका केही कुराहरुलाई प्रतिवादसहित स्थान दिइएको छ । यद्यपि, रविले कान्तिपुर र यसका प्रकाशक कैलाश सिरोहियामाथि लगाएको आरोपहरु भने उल्लेख गरिएको छैन ।
पहिलो पेजमै कान्तिपुरले रविलाई दर्जन प्रश्न सोधेको छ । ती सबै प्रश्नहरु यसअघि बारम्बार लेखिरहेकै विषयवस्तुमा आधारित छन् । कान्तिपुरले ‘प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना’ शीर्षकको अर्को समाचार पहिलो पेजमै राखेको छ । यो समाचार शीर्षक र अहिलेको माहोल भने खासै मेल खाँदैन ।
कान्तिपुरले पहिलो पेजमा रविमाथि कार्टुन पनि बनाएको छ, जहाँ रवि हिलोमा गाडिएका र हिलोका बाछिटाहरु बाहिर मानिसहरुलाई परेको देखाइएको छ ।
आजको कडा ‘रेस्पोन्स’ले कान्तिपुरका पाठकहरु थप भड्किएको समाचारहरुमा आएका प्रतिक्रियाहरुले झल्किन्छ । फेसबुक र ट्वीटरमा अधिकांश प्रतिक्रियाहरु कान्तिपुरका विरुद्धमा छन् । कान्तिपुरले अल्पकालीन रुपमा केही पाठक वा फलोअर्स गुमाउन सक्ने विश्लेषण गरिएको छ ।
आज प्रकाशित अन्य दैनिक पत्रिकाहरु भने कान्तिपुरको तुलनामा अपेक्षाकृत नरम देखिए अन्नपूर्ण पोष्ट रवि लामिछानेको पार्टी रास्वपा सरकारबाट बाहिरिएको सानो समाचार पहिलो पेजको कुनामा राखेको छ । उनले पत्रकार सम्मेलनमा बोलेका कुराहरुलाई पत्रिकाले कुनै स्थान नै दिएन ।
नागरिक दैनिकले पहिलो पेजमा रास्वपा सरकारबाट बाहिरिएको प्रमुख समाचार बनाएको छ भने त्यसको उपशीर्षकमा रविले सञ्चारमाध्यमहरु माथि गम्भीर आरोपहरु लगाएको उल्लेख छ । समाचारको प्रस्तुतिकरण भने फितलो छ ।
नागरिकभन्दा पनि फितलो छ नयाँ पत्रिकाको समाचार । ‘४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकको समाचार अत्यन्तै पराम्परागत ढर्राबाट लेखिएको छ, जबकी नयाँ पत्रिका कुनै समय प्रस्तुति र लेखनशैलीमा सिर्जनशीलताका लागि चिनिन्थ्यो । नयाँ पत्रिकाको त्यो पुरानो छवि अहिले समाप्तप्रायः भइसकेको छ । #नेपाल प्रेस बाट