काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल‚ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्यालले आजै पदभार ग्रहण गरेकी छन्। उनी सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।