दाङ । जिल्लामा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक सुतेर यात्रा गर्न मिल्ने बस सञ्चालनमा ल्याएको छ । साबिक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । नयाँ ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । टाटा कम्पनीका यी नयाँ बसहरू भारतबाट ल्याइएका हुन् ।
यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै बुधबारबाट दाङदेखि काठमाडौं रात्रि सेवामा ‘स्लिपर एसी’ बस सञ्चालन गर्ने उनले जानकारी दिए । दाङदेखि काठमाडौंसम्म लामो यात्रामा जाने यात्रुहरूको सहजताका लागि रात्रि सेवाका यात्रुले आरामदायीपूर्वक सुत्न मिल्ने सिट रहेका ४ वटा एयर सस्पेन्स स्लिपर बस सञ्चालन गर्न लागेको अध्यक्ष हमालले जानकारी दिए ।
यो बसमा ४० सिट छन् । तीमध्ये ८ जना सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरू बसेर यात्रा गर्न मिल्ने रहेको उनको भनाइ छ । दाङदेखि काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि एउटा यात्रुले १ हजार ८ सय र सुतेर यात्रा गर्न चाहने यात्रुले २ हजार रुपैयाँ भाडादर तय गरिएको पनि उनले बताए ।
प्रालिले यात्रुको सुविधालाई मध्यनजर गर्दै क्रमिक रुपमा डिलक्स, एसी, ब्यू स्काइ सेभेन स्टारपछि पछिल्लो समय सुतेर यात्रा गर्ने सुविधा युक्त बसहरू ल्याएको हो ।
यस्तै उनले सेवा सुधार गर्दै लगेको र भविष्यमा पनि यात्रुका गुनासो सम्बोधन गर्दै थप सुधार्दै जाने पनि बताए । उनले छिट्टै अनलाइन टिकट बुकिङ खुला गरिने पनि बताए उनले गाडी चालक, सहचालक र बसपार्कका टिकट काउन्टरहरूमा काम गर्ने कर्मचारीहरूको व्यवहार परिवर्तन गर्ने सवालमा आफूहरू कटिबद्ध भएर लाग्न पनि बताए ।
यस्तै प्रत्येक महिना चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गर्ने योजना रहेको पनि जानकारी दिए ।
२०४१ सालमा स्थापना भएको साबिक राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति राज्यको पछिल्लो नीति अनुरूप प्रालिमा गएको हो । यो प्रालिसँग करिब ६ बसहरू सञ्चालनमा रहेको र २ हजार बढीले रोजगारी पाइरहेको प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिए ।
उनका अनुसार मुलुकका बिभिन्न ५० जिल्ला र भारतको दिल्ली, सिम्ला लगायतका क्षेत्रमा प्रालिले बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । यो प्रालि भौतिक पूर्वाधार र जग्गाको दृष्टिकोणले नेपालकै सबै भन्दा धनी छ ।
प्रालिले यातायात दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा बाबाका मन्दिरहरू र प्रतीक्षालय निर्माण गरेको जनाएको छ । प्रालिले दृष्टिविहीन यात्रुहरूलाई निःशुल्क र अपांग यात्रुहरूलाई ५० प्रतिशत सम्म छुट दिँदै आएको समेत जनाएको छ । प्रालिले फागुन १२ र १३ गते दोश्रो अधिवेशन तथा चौथो साधारण सभा कार्यक्रम गर्दै छ । उक्त दिन एक जना व्यवसायीलाई गोला प्रथाबाट एउटा बस उपहार दिने पनि जनाएको छ ।