लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनमा ३०४ मत खसेको छ । रुपन्देहीको मर्चवार गाउँपालिकाको उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सकिएको थियो ।केहीबेरमै मतगणना शुरू हुने कुँवरले बताए ।
नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उप निर्वाचन भएको हो ।
आगामी १ वर्षका लागि उपनिर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन् ।
कूल मतभार ८ हजार १०० हुन आउँछ। पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गर्ने तयारी छ ।