दाङ । लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लिला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा समस्या भएपछि आइतबारका लागि सरेको हो । मन्त्रालय भागबण्डा र माओवादी केन्द्र बाहेकका पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ । माओवादीमा अझै मन्त्री छनोटबारे विवाद छ ।
मुख्यमन्त्री गिरीको आफ्नै सक्रियतामा शुक्रबार भएको छलफलपछि मन्त्रालयको संख्या र बाँडफाँट टुंगिएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेले तत्कालका लागि मुख्यमन्त्रीसहित ५ मन्त्रालय राखेको छ । जनता समाजवादी पार्टी (जसपा) लाई दिनुपर्ने अवस्थामा एमालेको मन्त्रालय ४ मात्र हुनेछन् । माओवादीले तीन मन्त्रालय पाएको छ । सरकारलाई समर्थन गरेका दलमध्ये जनमत र राप्रपालाई एक/एक मन्त्रालय दिने गरी टुंगो लागेको छ । जसपाको भागमा एक मन्त्रालय परे पनि लोसपालाई भने मन्त्रालय छुट्याइएको छैन ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेबाट चेतनारायण आचार्य जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्री, कपिलवस्तुका विष्णु पन्थी स्वास्थ्य मन्त्री, बाँकेका दुर्गाप्रसाद चौधरी सामाजिक विकास मन्त्री र प्यूठानका तुलसीराम शर्मा कृषि तथा सहकारी मन्त्री बन्ने भएका छन् ।
माओवादीले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ। कृष्णा केसीको मन्त्रालय र अर्को मन्त्रीकै टुंगो लाग्न बाँकी छ । भौतिक पूर्वाधार विकास र आन्तरिक मामिलामध्ये एकमा केसीको निश्चित भए पनि अर्को कसलाई पठाउने भन्ने माओवादीमा विवाद छ रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने प्रतिस्पर्धामा छन् । थारु पूर्वमन्त्री पनि भएकाले पार्टीको प्राथमिकतामा पुन छन् । तर, टुंगो लाग्न बाँकी छ ।
जनमत पार्टीले वन तथा वातावरण र राप्रपाले यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय पाउने भएको छ । जनमत पार्टीबाट संसदीय दलका नेता चन्द्रकेश गुप्ता नै मन्त्री बन्दै छन् । वन तथा वातावरण मन्त्री बन्न लागेका उनी रूपन्देहीको ५ (२) बाट निर्वाचित हुन् । राप्रपाले भने कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाउने तयारी गरेको छ । कपिलवस्तु ३ (२) बाट निर्वाचित यादव यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्थामन्त्री बन्ने भएका छन् । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो। माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए । विश्वासको मत दिने बेला प्रदेशसभामा रहेका १० दल मध्ये ८ दलका ५६ र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । मतदानमा भने ५७ प्रदेश सभा सदस्य सहभागी थिए ।
सरकारका प्रवक्ता एवं एमाले संसदीय दलका उपनेता आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित जस्तै भएको बताए । ‘अन्य ठूले समस्या आएन भने आइतबार लुम्बिनीको मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘बाँडफाँटको टुंगो लागेको छ, व्यक्तिको छनोट आइतबार नै हुन्छ ।’
नागरिक उन्मुक्ति पार्टीले भने तत्काल सरकारमा जाने विषयमा कुनै निर्णय गरेको छैन जसपा र लोसपा भने सरकारमा जाने हतारोमा छन् । तर, केन्द्रमा सरकारमा सहभागी नभएको जसपालाई प्रदेशमा सहभागी गराउनका लागि केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म कुनै छलफल र आग्रह नगरेकाले जसपाले पाउने मन्त्रालय पनि एमालेले राख्न लागेको एक एमाले नेताले बताए । उनले लोसपालाई भने विषयगत समिति मात्र दिने गरी छलफल भएको जानकारी दिए ।