भालुवाङ । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन । एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक एक जना गरी १० जनाको मन्त्रीमण्डल बनाइएको छ ।
यस अघि दुई जना मन्त्री नियुक्त भइसकेका थिए । नेपालको संविधानको धारा १७२ बमोजिम मन्त्रीहरुको शपथ ग्रहण गराइएको छ । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्री, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिए ।
एमालेबाट विष्णु पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन ।
जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन । यसअघि नियुक्त भएका दुई जना मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
एमालेका उपनेता चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा शहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसिलाइ आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
तर, आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकिएकी कृष्णा केसी शपथ ग्रहण स्थलमा उपस्थित भइनन । उनले विना बिभागीय मन्त्रीबाट राजिनामा दिएकी थिइन। तर, उनको राजिनामा थामथुम पारिएको छ ।
लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन । बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना मुख्यमन्त्री लीला गिरीको छ ।
लुम्बिनीमा मुख्यमन्त्रीले शपथ लिएको ठीक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लिला गिरीले माघ २८ मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।