सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चित्रबहादुरलाई प्रधानमन्त्री प्रचण्डको जवाफ: राष्ट्रियता रक्षाका लागि म ‘फ्रन्टलाइन’मै छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाएको ज्ञापन पत्र बुझ्दै आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा भनेका हुन् । केसीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, संघीयता र जनजीविकाका सवाल समेटिएको ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष केसीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो । भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका छन् । जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका थिए ।

जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation