शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पत्रकार महासंघ लुम्बिनी प्रदेश साधारण सभा सम्पन्न, १० बुँदे घोषणपत्र जारी

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्नको लागि सरकार तथा सम्बद्ध पक्षसँग माग राखेको छ। लुम्बिनी प्रदेश सरकारमा स्पष्ट देखिनेगरी सञ्चार मन्त्रालय उल्लेख नभएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नामकरण सच्याउन माग राखिएको छ ।

पहिला आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय थियो । तर, अहिले सञ्चार मन्त्रालयको नाम हटाएर आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय नामकरण गरिएकाले प्रदेश सरकारलाई सञ्चारको नाम रहनेगरी नामकरण गर्न माग गरिएको हो ।

राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा प्रदेश स्तरका सम्पूर्ण कार्यालय स्थापना गरी संघीयता कार्यान्वयनको अभिभारा यथाशीघ्र पूरा गर्न, पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउन महिला, दलित, जनजाति, मधेशीलगायत समाजका सबै पक्षलाई समेट्ने गरी संख्यात्मक तथा गुणात्मक क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउन केन्द्रीय समितिलाई अनुरोध गर्ने उल्लेख छ ।

मुलुक संघीयता कार्यान्वयनको चरणमा गइसक्दा पनि सञ्चार क्षेत्रमा संघीयताको अनुभूति हुन सकेको छैन । पत्रकार र सञ्चारमाध्यमले पाउने सम्पूर्ण सेवा–सुविधा सबै जिल्ला हुलाकबाट पाउने गरी पूर्ण अधिकार प्रत्यायोजन गर्न यो साधारणसभा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गरिएको छ । यस्तै, प्रेस पास वितरणका लागि जिल्ला–जिल्लामा घुम्तीशिविर आयोजना गर्न र प्रदेशस्तरीय कार्यालय स्थापना गरी प्रेस पास वितरण, नवीकरणलगायत काम गर्न माग गरिएको हो ।

सञ्चारकर्मीको क्षमता अभिबृद्धि तथा सञ्चार माध्यमको गुणस्तर बृद्धि लगायतका नीति निर्माण र कार्यान्वयनका लागि लुम्बिनी प्रदेशमा सञ्चार समन्वय परिषद् तत्काल गठन गर्न, प्रदेश तहमा निर्माण भएको सञ्चार कानुनका कतिपय प्रावधान अव्यावहारिक र त्रुटिपूर्ण रहेकोले पत्रकारिता क्षेत्रका सरोकारवालाहरुको समेत राय लिई सो ऐन संशोधनको ब्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

लोकतन्त्रको सुदृढीकरण, प्रेस तथा अभिव्यक्त स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकुल परिमार्जन गरी लागू गर्न, पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्यादित र व्यवसायीक वनाउन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीमा यो साधारणसभा आग्रह गरिएको छ ।

पत्रकारितामा क्रियाशिल छाडेर अन्य व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई स्वघोषणा गरि महासंघको सदस्यता त्याग गर्न र शुद्धिकरण अभियानमा सहयोग पुर्याउन सबैमा आह्वान गरिएको छ ।

लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी सेरोफेरोमा रहेका पवित्र धार्मिक पर्यटकिय स्थल स्वर्गद्वारी, लुम्बिनी, सुपादेउरालीलगायत स्थानीय धार्मिक तथा पर्यटकीय स्थल देविकोट, जंगलकुट्टी, जखेरा ताल, शिवगढी, चखेवाताल, बगारबाबा धार्मिक धाम रिहार, सहिद कृष्ण सेन इच्छुकको जन्मघरको संरक्षण, प्रबर्द्धन र एक आपसमा जोडिनेगरी प्रभावकारी कामको थालनिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमको प्रबर्द्धन र विकासको लागि भुमिका निर्वाह गर्न आग्रह गरिएको छ । महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेल संयोजक र दशरथ घिमिरे, राजेन्द्रप्रसाद धिताल, बसुन्धरा गौतम र किरणमान बज्राचार्य सदस्य रहेको घोषणपत्र तयारी समितले साधारण सभामा पेश गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation