शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राजनीतिक उथलपुथलबाट हाम्रो संस्कृतिमा आक्रमण भयो : मन्त्री यादव

दाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन विकास तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवले राजनीतिक उथलपुथलका कारण हाम्रो संस्कृतिमा आक्रमण भएको बताएका छन् ।

शनिबार दाङ घोराहीस्थित धारपानीमा शिवरात्रिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले केही वर्षदेखि भएको राजनीतिक उथलपुथलले हाम्रो हिन्दु संस्कृतिमाथि आक्रमण भएको बताए ।

उनले भने, ‘हामी हिन्दु हौं । सनातन धर्म मान्ने नेपालीले हिन्दुमा विश्वास राख्छौँ। हाम्रा मन्दिरका मूर्तिहरू तोडिए । हामी जुनसुकै राजनीतिक दलमा भए पनि जुन दलमा आस्था राखे पनि हामी हिन्दु हौं । हामी हिन्दु धर्ममा गर्व गर्छौं ।’

यसैगरी उनले मानिस जन्मदा हिन्दु धर्म भएर जन्मिने गरेको भए पनि पछि लोभ वा प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने गरेको पनि उल्लेख गरे । धर्म भनेको संस्कृतिसँग जोडिएको हुने भएकाले जुन देशको संस्कृति राम्रो हुन्छ । त्यसले त्यस देशका जनतालाई सभ्य बनाउने पनि बताए । उनले भने, ‘जुन घरमा संस्कृति छैन, संस्कार छैन । त्यो घर परिवारको जीवनस्तर राम्रो हुँदैन । त्यसैले हामी नेपालीले संस्कृति र संस्कारलाई मान्नु पर्छ ।’

उनले धारपानी मन्दिरमा धर्मशाला आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने समेत बताए । उनले भने, ‘यो मन्दिरले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनेछ । यहाँका नागरिकको जीवन स्तर माथि उठ्नेछ । त्यसले यो मन्दिरलाई व्यवस्थापन गर्न जरुरी छ । ‘

उनले लुम्बिनी प्रदेशमा देशकै महत्त्वपूर्ण मन्दिरहरू रहेको पनि उल्लेख गरे । ‘लुम्बिनी पनि यही प्रदेशमा पर्छ । स्वर्गद्वारी मन्दिर पनि यही प्रदेशमा छ । विश्वकै अग्लो त्रिशूल भएको मन्दिर यहीँ छ । यस्ता धेरै संस्कृति तथा पर्यटकीय स्थल रहेका छन् । सबैलाई व्यवस्थापन गरेर पर्यटन व्यवसायलाई सफल बनाउन सके लुम्बिनी प्रदेश छिट्टै समृद्ध प्रदेश बन्छ’, उनले भने ।

यस्तै उनले आफू जुनसुकै पार्टीबाट मन्त्री बने पनि प्रदेशको विकासमा कुनै विभेद नगर्ने समेत बताए । उनले प्राकृतिक सम्पदाको पहिचान गरेर मन्त्रालयमा आउन समेत आग्रह गरे । उनले यो देशलाई माथि उठाउने पर्यटन र कृषि रहेको पनि बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव लगायतका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

घोराही उपमहानगरपालिका ५ धारपानीस्थित विश्वकै अग्लो त्रिशूल रहेको उक्त मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहान ३ बजेदेखि नै भगवान् शिवको पूजापाठ तथा आराधाना सुरु भएको पाण्डेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए ।

द्वापर युगको अन्त्यमा श्रीकृष्णको स्वर्गारोहण पश्चात् पाँच पाण्डवले यहाँ आएर पूजाअर्चना गरेकाले यसलाई पाण्डवेश्वर महादेव भनिएको विश्वास छ । शिवरात्रिमा दाङ जिल्लाकै सबैभन्दा ठूलो शिवको तीर्थस्थल भएकाले हजारौं दर्शनार्थीको भीड लाग्छ ।

जिल्लाको तुलसीपुरको शीतलपुर, बेलझुण्डी, बिजौरीमा लगायतका शिवमन्दिरमा भक्तजनको भीड लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation