
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो ।
जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन् ।
तीनजना सांसदले भने निर्वाचनमा भाग लिन पाउने छैनन् । संसाद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन् । चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए । तर सरकारले जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन । यसैगरी भ्रष्टाचार मुद्दामा गुरूङ निलम्बनमा छन् । नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गुमेपछि सो स्थान रिक्त छ । त्यसका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ । राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।
हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन् । राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।
संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो । प्रदेशसभामा ५ सय ५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।