आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आजदेखि दाङ सहित १५ जिल्लाका ८५ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइदै

सरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५ सय १ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।

झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीका स्थानीयलाई आम औषधि सेवन कार्यक्रममार्फत औषधि खुवाउन लागिएको महाशाखाका रामकुमार महत्तोले जानकारी दिए ।

सन् २००३ देखि ६४ जिल्लाबाट अभियान सुरु गरिएको थियो। यी जिल्लाहरुमा रोगको दर अपेक्षाकृत रुपमा नघेटकाले पटक पटक औषधि खानु परेको महाशाखाले जनाएको छ । हात्तीपाइले रोगका कारण हालसम्म ४० जिल्लाका ३२ हजार जनामा अपाङ्गता तथा हाइड्रोसिलको समस्या देखिएको उनले जानकारी दिए ।

नेपालमा हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी हुँदै आएको महाशाखाले जनाएको छ । यसवर्ष भने स्थानीय तहका लागि २० करोड, प्रदेश तथा जिल्लामा १ करोड ६० लाख, संघमा १२ लाख र औषधिका लागि ८५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्नुपर्ने बताउदै केही समस्याहरु आएपनि हात्तीपाइले रोग निवारण गरिने जानकारी दिए । महाशाखाका निर्देशक डा चुनमलाल दासले औषधि सुरक्षित भएकाले ढुक्क भएर खान सबैलाई आग्रह गरेका छन् ।

आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ । सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation