काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ( बालेन) ले आफूलाई राजीनामा गर्न बाध्य पारेको खुलासा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई राजीनामा दिन बाध्य पार्न खोजेको बताएका हुन् ।
उनले यो देश कहिल्यै नबन्ने समेत उल्लेख गरेका छन् । ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै बन्दैन,’ उनले फेसबुकमा लेखेका छन् ।
तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन् । उनका समर्थकहरूले भने कमेन्टमा निर्वाचित मेयर पद कसैले खोस्न नमिल्ने भन्दै आफ्नो काममा अगाडि बढ्न सुझाव दिएका छन् । समर्थकहरूले कसैले राजीनामा माग्दैमा राजीनामा नगर्न पनि सुझाएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी ६१ हजार ७६७ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए ।
भारी मतले विजयी भएका बालेन त्यसयता काठमाडौंमा आक्रामक काम गर्दै आएका छन् । उनले नक्साविपरित निर्माण भएका टहरा भत्काउनुका साथै पार्किङ क्षेत्र पनि व्यवस्थित गरेका छन् ।
उनले टुकुचा खोला फर्काउने अभियानमा समेत लागेका थिए । त्यसका लागि विभिन्न ठाउँमा रहेका संरचना भत्काएका थिए । त्यस्तै थापाथलीको सुकुम्बासी बस्ती हटाउन पनि उनी निरन्तर पहल गरिरहेका छन् ।
उनले सरकारका सम्बन्धित निकायमा पनि यसबारे पहल गरेका छन् । यी काम गर्दैगर्दा उनीमाथि आलोचना गर्नेहरूको पनि कमी छैन । गरिब मजदुरहरूलाई उठिबास लगाउन खोजेको र पुरानो संरचनाहरू भत्काउन खोजेको भन्दै उनीमाथि एकथरीले आलोचना गर्दै आएका छन् ।