
देउखुरी । मृगौलाको डायलाइसिस सेवा बन्द हुने सूचना सार्वजनिक भएपछि सरकारलाई चौतर्फी दबाब पर्यो । सरकारले गरिब, विपन्न परिवारका विरामीको निःशुल्क डायलाइसिस गर्ने नीति लिएको छ । सोहीअन्तर्गत निःशुल्क डायलाइसिस सेवा प्रवाह हुँदै आएको छ तर सरकारले त्यही सेवा वापतको रकम उपलब्ध नगराउँदा अस्पतालबाट दिइने निःशुल्क सेवा नै बन्द गर्ने अवस्थामा पुगेपछि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई दबाब पर्यो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले लिखितपत्र पठाएपछि अस्पतालले रोक्न थालेको निःशुल्क डायलाइसिस सेवा सुचारु भएको छ । ‘सरकारले दिनुपर्ने रकम नदिएपछि समस्या आयो । हामीले आवाज उठायौं तर सुनुवाइ भएन । यसपालि प्रदेश सरकारका स्वास्थ्यमन्त्रीले लिखित प्रतिबद्धता जनाएपछि निःशुल्क सेवा जारी छ’- रोटरी क्लव अफ लमहीका अध्यक्ष मोहन पाण्डेले भन्नुभयो- ‘फागुन महिनाभित्र समस्या समाधान गर्ने गरी प्रतिबद्धता जनाउनुभएको छ । आशा गरौं, समस्या समाधान हुनेछ ।’
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमलाई पत्र लेख्दै मन्त्री पन्थीले मन्त्रालयले पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जसले गर्दा बन्द हुन थालेको डायलाइसिस सेवा सुचारु भएको छ । डायलाइसिस सेवा बन्द हुने सूचनाले विरामीलाई पिरोलेको थियो । लमहीमा सामुदायिक डायलाइसिस सेवा छ । जहाँ दाङ जिल्लाका मात्र नभई छिमेकी जिल्लासहित अन्य प्रदेशका बिरामी समेत उपचारको लागि यहाँ आउने गरेका छन् । २०७६ माघदेखि लमहीमा डायलाइसिस सेवा सञ्चालन गरिएको हो । मृगौलामा समस्या भएका बिरामीलाई डायलाइसिस गरिन्छ । सरकारले डायलाइसिस सेवा निःशुल्क गरेको छ ।
विगतमा यो सेवा निःशुल्क थिएन । निःशुल्क नहुँदा महंगो सेवा लिन नसकेकै कारण धेरैले ज्यान गुमाउनुपरेको थियो । जब डायलाइसिस सेवा निःशुल्क भयो, त्यसपछि मृगौला फेल भएका बिरामीलाई यो सेवाले सहज बनायो तर सरकारले निःशुल्क सेवा दिएवापत स्वास्थ्य संस्थालाई रकम नपठाउँदा समस्या परेको छ । गत साउन महिनाबाट एक रुपैयाँ पनि रकम प्राप्त नभएकाले सेवा दिन नसक्ने अवस्थामा पुगेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हालसम्म अस्पतालले सरकारबाट छ करोड रुपैयाँ पाउनुपर्नेछ ।
सरकारबाट रकम नपाएको बहानामा निःशुल्क उपचार सेवा बन्द गर्न नमिल्ने तर्कसमेत गर्न थालिएको छ । स्वास्थ्यमन्त्री पन्थीले मानवीय संवेदनशीलता बुझ्नसमेत अस्पताललाई आग्रह गर्नुभएको थियो । अस्पतालको निःशुल्क डायलाइसिस सेवा बन्द हुने सूचनाले समस्यामा परेका बिरामीहरु अहिले सेवा निरन्तरता भएपछि खुशी छन् । घोराही उपमहानगरपालिका- १४ निवासी शम्भुरत्न घिमिरेले निःशुल्क सेवा चलिरहेकोमा खुशी भएको र कहिल्यै बन्द हुने अवस्थामा नपुर्याउन आग्रह गर्नुभयो । ‘सेवा बन्द हुने भयो भनेर सुनेका थियौं, त्यो सूचनाले डराउन दिएको थियो’- उहाँले भन्नुयो- ‘सेवा बन्द नहुने खबरले फेरि खुशी थपेको छ । यो खुशी सधैं थपिदै जाओस् ।’
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले लमहीमा रहेको सामुदायिक डायलाइसिस सेन्टरमा निःशुल्क डायलाइसिस सेवा बन्द गर्ने सूचना निकालेको थियो । फागुन १५ गतेदेखि निःशुल्क डायलाइसिस सेवा दिन नसकिने सूचना थियो तर सरकारले प्रतिबद्धता जनाएपछि अहिले सेवा सुचारु छ । एक पटक डाइलाइसिस गरेवापत सरकारले दुई हजार पाँच सय रुपैयाँ अस्पताललाई दिने सम्झौता थियो तर गत साउन महिनादेखि एक रुपैयाँ पनि नपाएको अस्पतालले सूचनामा उल्लेख गरेको छ ।
रुकुम, प्युठान, रोल्पा, सल्यान लगायतका जिल्लाबाट उपचारका लागि लमही आउने गरेका छन् । लमहीमा डायलाइसिस सेन्टर स्थापना भएपछि छिमेकी जिल्लाका बिरामीलाई समेत सहज भएको छ । सुविधा पनि राम्रो पाइएपछि बिरामीको चाप थेगिनसक्नु छ । सरकार र मुटु अस्पताल बीच भएको सम्झौताअनुसार काम नहुँदा निःशुल्क डायलाइसिस सेवा प्रदान गर्न समस्या परेको रोटरी क्लव अफ लमहीका प्रस्तावित अध्यक्ष केशव घिमिरेले बताउनुभयो ।