ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्व प्रख्यात छन् ।
आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई पनि उज्यालो देखाइदिएका छन् ।
मोतीविन्दुका कारण आँखाको ज्योति गुमाएका पाँच वर्षका बालकदेखि ८८ वर्षका वृद्धसम्मले संसार देख्न पाएका छन् ।
फक्ताङलुङ गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित नौदिने निःशुल्क शिविरको आठ दिनमा एक हजार नौ सय ३५ को आँखा परीक्षण गर्दा ९७ जनामा मोतीविन्दु देखिएकोमा ७० जनाको शल्यक्रिया भइसकेको छ ।
आँखा देखेपछि ८२ वर्षीय जसबहादुर लिम्बू, ७१ वर्षीया छिरिङकिपा शेर्पा, ३७ वर्षीय नुपु शेर्पालगायतले डा. सन्दुकसँगै क्यामेरामा हेरेर फोटो खिचाए ।